सिएम रियप, क्याम्बोडिया – अनलाइन स्क्याम (साइबर अपराध) विरुद्धको पछिल्लो कारबाहीअन्तर्गत क्याम्बोडियाको सिएम रियप प्रान्तमा १३ जना नेपाली नागरिकहरू पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४ जना महिला पनि छन्।
सिएम रियप प्रान्तस्थित Chreav कम्युनको Khnar गाउँमा रहेको एउटा भाडाको भिलामा श्रावण ५ गते आइतबार दिउँसो करिब ३:३० बजे संयुक्त सुरक्षा टोलीले छापा मारेको हो। क्याम्बोडियाली सुरक्षाकर्मीहरूले उक्त स्थानमा अवैध अनलाइन गतिविधि हुँदै आएको भन्ने गोप्य सूचनाका आधारमा कारबाही थालेका थिए।
छापाको क्रममा प्रहरीले १६ थान डेस्कटप कम्प्युटर, २ थान ल्यापटप, थुप्रै मोबाइल फोनहरू र अन्य डिजिटल उपकरणहरू बरामद गरेको बताइएको छ।
पक्राउ परेका सबै व्यक्तिहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सिएम रियप प्रान्तीय प्रहरी कार्यालयमा लगिएको छ। क्याम्बोडियाली अधिकारीहरूले अनलाइन ठगी र साइबर अपराधमा संलग्न जोसुकैलाई कडाभन्दा कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि पनि क्याम्बोडियामा यस्ता अनलाइन स्क्यामहरूमा नेपाली नागरिकहरूको संलग्नता देखिँदै आएको छ। विदेशमा आकर्षक तलब र रोजगारीको आशामा पुगेका नेपालीहरू यस्ता आपराधिक गिरोहमा फस्दै आएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।
नेपाल सरकार तथा सम्बन्धित निकायहरूलाई यस्ता घटनाप्रति गम्भीर ध्यान दिन आवश्यक रहेको जनाइएको छ।