साविक विजेता अर्जेन्टिना र प्रतियोगिताकै सबैभन्दा अप्रत्याशित टोली केप भर्डे फिफा विश्वकपको अन्तिम ३२ को रोमाञ्चक भिडन्तका लागि मैदान उत्रिँदैछन्। शतप्रतिशत जितसहित आएको अर्जेन्टिना र इतिहास रचेको अफ्रिकी राष्ट्रबीचको यो खेल निकै चासोका साथ हेरिएको छ।
काठमाडौँ।
जारी २०२६ फिफा विश्वकपको नकआउट (अन्तिम ३२) चरणमा साविक विजेता अर्जेन्टिनाले यसै संस्करणको 'सरप्राइज प्याकेज' मानिएको केप भर्डेको सामना गर्दैछ। समूह चरणका सबै खेलहरूमा उत्कृष्ट जित निकाल्दै अर्जेन्टिना अघिल्लो चरणमा प्रवेश गरेको हो भने केप भर्डे आफ्ना तीनवटै खेलमा बराबरीको नतिजा निकाल्दै इतिहास रचेर नकआउटमा आइपुगेको हो।
मुख्य प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोली लगातार दोस्रो पटक विश्वकपको सुनौलो ट्रफी उचाल्ने लक्ष्यमा छ। यसपटकको विश्वकपमा अर्जेन्टिना, फ्रान्स र मेक्सिकोले मात्र समूह चरणका सम्पूर्ण खेलहरू जितेर शतप्रतिशत नतिजा निकाल्न सफल भएका छन्। समूह चरणका खेलहरूमा आठ गोल गरिसकेको अर्जेन्टिनाले विपक्षीलाई केवल एक गोल मात्र सुम्पेको छ, जसले टोलीको सन्तुलित प्रदर्शनलाई प्रष्ट पार्छ।
कप्तान मेस्सीको उत्कृष्ट लय र गोल्डेन बुटको दौड
अर्जेन्टिनी टोलीका कप्तान लियोनेल मेस्सी यतिबेला सानदार लयमा देखिएका छन्। प्रतियोगितामा टोलीले गरेका कुल आठ गोलमध्ये छ गोल त मेस्सी एक्लैको नाममा छ। जोर्डनविरुद्धको खेलमा फ्रिकिकमार्फत जाली चुमाएसँगै उनी विश्वकपका लगातार सात खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडीसमेत बनेका छन्। आफ्नो खेल जीवनमा अहिलेसम्म विश्वकपको 'गोल्डेन बुट' जित्न नसकेका मेस्सीले यही प्रदर्शनलाई निरन्तरता दिएमा यसपटक उक्त विधाको अवार्डसमेत चुम्ने देखिन्छ।
यदि अर्जेन्टिनाले यो खेल जितेमा क्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलिया वा इजिप्टको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। तालिकाको समीकरण हेर्दा बलिया टोलीहरू फ्रान्स र स्पेन प्रतियोगिताको अर्कोतर्फ रहेकाले अर्जेन्टिनाले फाइनलअघि ती टोलीहरूसँग खेल्नुपर्ने छैन।
इतिहास रचिसकेको सानो राष्ट्र केप भर्डे र गोलरक्षक भोजिन्हाको क्रेज
अफ्रिकाको पश्चिमी तटीय क्षेत्रमा अवस्थित सानो टापु राष्ट्र केप भर्डे विश्वकपको नकआउट चरणमा पुग्ने इतिहासकै सबैभन्दा सानो मुलुक बनेको छ। टोलीका गोलरक्षक भोजिन्हा यस विश्वकपका सबैभन्दा चर्चित नायकका रूपमा उदाएका छन्। स्पेनविरुद्धको खेलमा लोभलाग्दो बचाउ गरेपछि उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा फलोअर संख्या ३१ हजारबाट ह्वात्तै बढेर १ करोड ७० लाख पुगेको छ। यो वृद्धिदरको प्रतिशत विश्वप्रसिद्ध खेलाडीहरू मेस्सी र क्रिस्टियानो रोनाल्डोको भन्दा पनि उच्च हो।
समूह चरणमा बलियो रक्षापङ्क्ति प्रदर्शन गर्दै केवल दुई गोल मात्र खाएको केप भर्डेका मुख्य प्रशिक्षक बुबिस्टाका खेलाडीहरू कुनै दबाबविना मैदान उत्रनेछन्। त्यसैले अर्जेन्टिनाले विपक्षीलाई कमजोर आँक्ने भुल गर्ने छैन। केप भर्डेका राष्ट्रपति जोसे मारिया नेभेसले समेत आफ्नो टोलीले अर्जेन्टिनालाई १–० ले स्तब्ध पार्ने विश्वास व्यक्त गरेका छन्।
टोलीको अवस्था र चोट अर्जेन्टिनी क्याम्पमा हाल कुनै पनि खेलाडी चोटग्रस्त छैनन्। समूह चरणको अन्तिम खेलमा विश्राम पाएका मेस्सी दोस्रो हाफमा मैदान छिर्दै व्यक्तिगत छैटौँ गोल गर्न सफल भएका थिए। अर्कोतर्फ, केप भर्डेका मुख्य खेलाडी टेल्मो अर्कान्जो ह्यामस्ट्रिङको चोटका कारण यस खेलमा अनुपस्थित रहनेछन् भने बाँकी खेलाडीहरू मैदान उत्रन तयार छन्।