काठमाडौं । नेपाल सरकारले सरकारी डिजिटल प्रणालीको सुरक्षा थप सुदृढ बनाउने उद्देश्यले पहिलो पटक ‘साइबर सुरक्षा हल अफ फेम’ (Hall of Fame) सुरु गरेको छ। सरकारी प्रणालीमा रहेका सुरक्षा कमजोरी (भल्नरेबिलिटी) पहिचान गरी जिम्मेवारीपूर्वक जानकारी गराउने साइबर सुरक्षा अनुसन्धानकर्तालाई सम्मान तथा प्रोत्साहन गर्ने लक्ष्यसहित यो पहल अघि बढाइएको हो।
सरकारले विकास गरिरहेको ‘ह्वाट्सएप’ जस्तै मेसेजिङ प्लेटफर्ममा विभिन्न सुरक्षा कमजोरी फेला परेपछि ती कमजोरी सुरक्षित रूपमा रिपोर्ट गर्ने अभ्यासलाई संस्थागत बनाउन यो व्यवस्था लागू गरिएको हो।
यो सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २६ जुनदेखि सञ्चालनमा ल्याएको ‘डेभ्स नेपाल (Devs Nepal)’ प्लेटफर्ममा समावेश गरिएको छ। यसअघि सरकारी डिजिटल प्रणालीमा कमजोरी फेला परे पनि त्यसलाई औपचारिक रूपमा रिपोर्ट गर्ने तथा अनुसन्धानकर्ताको योगदानलाई सार्वजनिक रूपमा सम्मान गर्ने स्पष्ट संयन्त्र थिएन।
कार्यकारी परिषद् गठन
डेभ्स नेपाल प्लेटफर्म सञ्चालनका लागि गठन गरिएको कार्यकारी परिषद्को अध्यक्षमा प्रधानमन्त्रीका सचिवालय सदस्य विवेक मिश्र रहेका छन्। परिषद्का सदस्यमा आदेश खड्का, महादेव खनाल र सन्दीप अर्याल छन् भने राम थापाले सदस्य सचिवको जिम्मेवारी सम्हालेका छन्।
३९ डेभलपर आबद्ध, चार अनुसन्धानकर्ता ‘हल अफ फेम’मा
प्लेटफर्ममा प्राविधिक प्रतिभालाई जोड्न ‘ट्यालेन्ट’ नामक सुविधा राखिएको छ। हालसम्म यसमा ३९ जना डेभलपर आबद्ध भइसकेका छन्।
त्यस्तै, सरकारी प्रणालीका सुरक्षा कमजोरी पहिचान गरी जिम्मेवारीपूर्वक जानकारी गराएका **चार जना साइबर सुरक्षा अनुसन्धानकर्ता (ह्वाइट ह्याकर)**लाई ‘हल अफ फेम’मा समावेश गरिएको छ।
हालको सूचीअनुसार ‘1337mickey’ उपनाम प्रयोग गर्ने सुशिल फुयाल २० अङ्कसहित पहिलो स्थानमा छन्। माइरा खनाल ८ अङ्कसहित दोस्रो स्थानमा रहेकी छन् भने ४ अङ्क प्राप्त गरेका एक अज्ञात अनुसन्धानकर्ता तेस्रो स्थानमा छन्। ‘tukbdr1’ नाम प्रयोग गर्ने अनुसन्धानकर्ता ३ अङ्कसहित चौथो स्थानमा रहेका छन्।
सरकारका अनुसार साइबर सुरक्षा अनुसन्धानकर्ताले यही ‘हल अफ फेम’ पृष्ठमार्फत सरकारी डिजिटल प्रणालीमा भेटिएका सुरक्षा कमजोरी प्रत्यक्ष रूपमा सम्बन्धित निकायलाई रिपोर्ट गर्न सक्नेछन्।
प्रधानमन्त्रीको सन्देश
डेभ्स नेपाल प्लेटफर्ममा प्रकाशित सन्देशमा प्रधानमन्त्री **बालेन्द्र शाह (बालेन)**ले नेपाल कृत्रिम बुद्धिमत्ता (एआई), नवप्रवर्तन र प्रविधिको नेतृत्वमा नयाँ युगतर्फ अघि बढिरहेको उल्लेख गरेका छन्।
उनले नेपाललाई केवल जनशक्ति निर्यात गर्ने मुलुकका रूपमा सीमित नराखी प्रविधि, उत्पादन र नवीन विचार विश्व बजारमा निर्यात गर्ने देशका रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सन्देशमा भनेका छन्,
“डेभ्स.नेपाल देशको डिजिटल भविष्य निर्माण गरिरहेका निर्माता, नवप्रवर्तक र क्रियटरहरूको राष्ट्रिय मञ्च हो। नेपाली युवाको प्रतिभा विश्वस्तरमा प्रमाणित भइसकेको छ। अब हामी सबै मिलेर नेपालबाटै विश्वका लागि प्रविधि निर्माण गर्नेछौँ।”
आइडिया साझेदारीदेखि डेभलपर नेटवर्कसम्म
डेभ्स नेपाल प्लेटफर्ममा प्रयोगकर्ताका लागि ‘फिड’ सुविधा पनि उपलब्ध छ, जहाँ प्रमाणित सदस्यहरूले सूचना, विचार र नवीन अवधारणाहरू साझा गर्न सक्छन्।
सरकारी कार्यालयका लागि सूचना प्रविधिसम्बन्धी नयाँ समाधान वा परियोजनाको प्रस्तावसमेत यही प्लेटफर्ममार्फत पेश गर्न सकिने व्यवस्था गरिएको छ।
यसबाहेक, प्रयोगकर्ताले आफ्नो अकाउन्ट बनाएर प्लेटफर्ममा आबद्ध डेभलपरलाई फलो, उनीहरूका परियोजना वा आइडियामा भोट तथा कमेन्ट गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ।
