काठमाडौं । काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादी कुमार थापामगर (नेपाली ब्रो) ले अदालतसमक्ष दिएको बयानमा आफ्नो वैवाहिक जीवन, पारिवारिक विवाद र घटनाको दिन भएका गतिविधिबारे विस्तृत विवरण प्रस्तुत गरेका छन्।
अदालतमा दिएको बयानअनुसार थापामगरको जन्म नुवाकोटमा भएको हो। उनले करिब २०६१/६२ सालतिर नेपाली सेनामा अन्य दर्जामा भर्ती भई सेवा सुरु गरेका थिए। सिंहदरबारस्थित ब्यान्ड गुल्ममा तालिमका क्रममा सैनिक ईश्वरी भुजेलसँग चिनजान भएको र पछि प्रेम विवाह गरेको उनले बताएका छन्।
उनको भनाइअनुसार विवाहपछि केही समय साथीहरूबाट श्रीमतीको विगतबारे विभिन्न कुरा सुने पनि त्यसलाई बेवास्ता गर्दै वैवाहिक जीवन अघि बढाएका थिए। केही वर्षपछि उनले नेपाली सेनाको जागिर छाडेर उपदान तथा बचत रकमबाट तारकेश्वर–६ पैयुँटारमा जग्गा खरिद गरी श्रीमतीकै नाममा नामसारी गरेको बताएका छन्।
बयानमा उनले वैदेशिक रोजगारीका लागि विभिन्न देश गएको, नेपाल फर्किएपछि रेस्लिङ तथा टिकटकमार्फत ‘नेपाली ब्रो’का रूपमा परिचित भएको उल्लेख गरेका छन्।
उनका अनुसार टिकटकमा लोकप्रियता बढेसँगै अन्य महिलासँग भिडियो बनाउने क्रम सुरु भएपछि श्रीमतीसँग विवाद चर्किएको थियो। त्यसपछि टिकटकमार्फत प्रतिक्षा आचार्यसँग चिनजान भई प्रेम सम्बन्ध विकसित भएको र सामाजिक सञ्जालमा उनलाई ‘मेरो डाक्टर गर्लफ्रेन्ड’ भनेर सार्वजनिक गरेपछि श्रीमतीले प्रहरीमा उजुरी दिएको उनले अदालतलाई बताएका छन्।
थापामगरका अनुसार त्यसपछि उनीविरुद्ध वैवाहिक कसुर र सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दायर भएको थियो र उनी धरौटीमा रिहा भएपछि घरको भुइँतलामा छुट्टै बस्दै आएका थिए।
घटनाको दिनबारे बयान दिँदै उनले अदालतमा पेसी तोकिएको दिन बिहान श्रीमती कार्यरत सैनिक ब्यान्ड गुल्म पुगे पनि आफूले साथमा चक्कु बोकेको कारण भित्र प्रवेश नगरेको बताएका छन्। त्यसपछि अदालत पुगे पनि श्रीमती उपस्थित नभएको र साँझ घर फर्किँदा परिवारसँग विवाद भएको दाबी गरेका छन्।
उनले बयानमा त्यसपछि अत्यधिक तनाव र आक्रोशमा कार लिएर निस्किएको तथा बाटोमा श्रीमतीसँग भेट भएपछि उनको पछ्याएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकार गरेको उल्लेख गरेका छन्।
बयानअनुसार घटनापछि उनले प्रयोग गरेको भनिएको चक्कु बाटोमा फालेको, कार बालाजु–चमाती क्षेत्रमा छाडेको र प्रहरी कार्यालयतर्फ जाने क्रममा पक्राउ परेको बताएका छन्। अदालतमा उनले सीसीटीभी फुटेज तथा बरामद गरिएको हतियारसमेत सनाखत गर्दै अभियोगसँग सम्बन्धित आफ्नो बयान दिएका छन्।
प्रहरी र अदालतको प्रक्रिया जारी
यो बयान प्रतिवादीले अदालतसमक्ष दिएको आधिकारिक भनाइ हो। घटनासम्बन्धी अभियोग, प्रमाण र प्रतिवादीको बयानको मूल्याङ्कन गर्दै अन्तिम निर्णय अदालतले गर्नेछ। त्यसैले यो बयानलाई अदालतमा प्रस्तुत प्रतिवादीको दाबीका रूपमा मात्रै बुझ्नुपर्ने कानुनी सिद्धान्त लागू हुन्छ।
